mohan karki photo.nepinbiz.2

भारतमा नेपालीका लागि अवसर र चुनौती दुवै छन्

नेपइनबिज संवाददाता, ९जेठ २०८३ / 7:55pm, 23 May 2026

भारतमा रहेका प्रवासी नेपाली उद्योगी–व्यवसायीहरूको छाता संगठन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिज (ईसीसीआई) ले हालै सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । करिब पाँच सय नेपाली मूलका उद्योगी–व्यवसायीहरूको साझा प्लेटफर्मका रूपमा स्थापित संस्थाको नेतृत्व सम्हालिरहेका डा. मोहन कार्र्की उदयपुरको त्रियुगा नगरपालिकाका निवासी हुन् ।

सन् २००३ मा करिअरको खोजीमा अष्ट्रेलिया पुगेका कार्की पछि प्राकृतिक चिकित्सा (नेचुरोपेथी) तर्फ आकर्षित भए । नेचुरोपेथी चिकित्सक बन्ने र नेपालमा यससम्बन्धी अभियान सुरु गर्ने उद्देश्यले उनी अध्ययनका लागि दिल्ली पुगे । अध्ययन पूरा गरेपछि उनले दिल्लीमै आफ्नो अभ्यास सुरु गरे । उनले फोर्टियस अस्पताल नोएडामा योग विभाग प्रमुखका रूपमा काम गरे भने योगा इन्स्टिच्यूट स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योग प्रशिक्षकका रूपमा सक्रिय रहँदै आएका छन् ।

योगमा विद्यावारिधि गरेका कार्कीले योग, प्राकृतिक चिकित्सा तथा होलिस्टिक वेलनेससम्बन्धी विभिन्न पुस्तकहरू प्रकाशित गरेका छन् । हालै उनी बेलायतस्थित एक विश्वव्यापी आईटी कम्पनी ‘जेनिस’का साझेदारसमेत बनेका छन् ।
भारतको राजधानी दिल्लीमा दुई दशकभन्दा बढी समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय कार्कीसँँग ईसीसीआईको नयाँ नेतृत्वको योजना, भारतमा नेपाली व्यवसायीहरूको अवस्था, नेपालमा लगानीको सम्भावना तथा युवा पुस्तालाई उद्यमशीलतामा जोड्ने रणनीतिबारे नेपइनबिजले गरेको कुराकानीः

एभरेष्ट चेम्बरलाई अब कसरी अगाडि बढाउनुहुन्छ ?

हामीले संस्थाका लागि तत्काल र पछि गर्ने योजनाहरु बनाएका छौं । ईसीसीआईलाई विशुद्ध उद्योगी–व्यवसायीहरूको संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य छ । अहिले मुख्यतः दिल्ली, महाराष्ट्र, मध्यप्रदेश र गुजरातका नेपाली मूलका व्यवसायीहरू आबद्ध हुनुहुन्छ । अब यसलाई देशव्यापी संजालका रुपमा बिस्तार गर्ने योजना छ ।

हामीले विगत दुई वर्षदेखि आयोजना गर्दै आएको“नेपाल ट्रेड फेस्टिभल” लाई यस वर्ष अझ व्यवस्थित, बृहत्तर र अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना छ ।

हामीले संस्थाका सदस्यहरुकै अग्रसरतामा सामूहिक लगानीको अवधारणामा आधारित कलेक्टिभ फण्ड योजना सुरु गरेका छौं । यसले भारत तथा नेपालमा नेपाली समुदायका उद्योगी व्यावसायीहरुलाइ लगानीकालागि सहयोग पुरयाउँछ भने नेपालमा पनि लगानीका क्षेत्र पहिचान गरि लगानी गर्न सक्छ ।

नेपाली समुदायको आफ्नै बैंक स्थापना गर्ने विषयमा प्रारम्भिक पहल सुरु गरेका छौं। त्यसैगरी, एभरेष्ट चेम्बरकै सदस्यहरूको लगानीमा दिल्लीमा “बिजनेस पार्क” निर्माण गर्ने अवधारणामा काम भइरहेको छ, जहाँ चेम्बरको कार्यालय, अडिटोरियम र नेपाली समुदायका उद्योग–व्यवसाय सञ्चालनका लागि साझा पूर्वाधार विकास गरिनेछ।

सँगसँगै संस्थालाई अन्तर्राष्ट्रिय व्यवसायिक संजालहरुसँग जोड्ने लक्ष्य पनि हाम्रो प्राथमिकतामा छ।
तपाईंका योजना निकै महत्वाकांक्षी देखिन्छन् नि ?

हरेक ठूलो कामको सुरुवात सानो प्रयासबाट हुन्छ । हामी आशावादी भएर अघि बढेका छौं। आफ्नै कार्यकालमा योजनालाइ मूर्तरुप दिने प्रयास गर्नेछौ । भएन भने पनि हाम्रो कार्यकालमा संस्थालाई बलियो आधार दिएर जाने लक्ष्य छ, त्यसपछि आउने नेतृत्वले त्यसलाई अझ उचाइमा पुरयाउनेछ भन्ने आशा गरेका छौं ।

संस्थामा अझै पनि पेशागत व्यवसायिकता र कर्पोरेट कल्चरको अभाव देखिन्छ, यसलाई कसरी सुधार गर्नुहुन्छ ?
धेरै विषयहरूलाई एकसाथ व्यवस्थित ढंगले अघि बढाउनुपर्ने अवस्था छ । १८ वर्षअघि संस्था स्थापना हुँदा हाम्रो समुदाय भर्खर व्यवसाय र उद्योग क्षेत्रमा प्रवेश गर्दै थियो। विशेषगरी पहिलो पुस्ताका व्यवसायीहरूमा कर्पोरेट अभ्यास सीमित थियो। साना तथा परम्परागत व्यवसायमा सीमित भएकाले आधुनिक व्यवसायिक सोच विस्तार हुन समय लाग्यो। आज पनि केही सदस्यहरूमा पुरानै मानसिकताको प्रभाव देखिन्छ।

संस्थाको गठन दिल्लीबाट भएको थियो । दिल्ली भारतको राजनीतिक राजधानी भएकाले राजनीतिक प्रभावका विषयहरू पनि स्वाभाविक रूपमा जोडिए । तर अहिले अवस्था परिवर्तन हुँदै गएको छ। मुम्बई र मध्यप्रदेश लगायतका राज्यका सफल नेपालीहरु यस संस्थामा आबद्ध हुँदै आएका छन् । नेपाली समुदायका केही व्यवसायीहरु आज करोडंदेखि अरबौं रुपैयाँको कारोबार गर्ने स्तरमा पुगिसकेका छन् ।

साथै नयाँ पुस्ताका शिक्षित र पेशागत रूपमा सक्षम युवाहरू यस सस्थासँग जोडिएका छन् । उनीहरू यहीं जन्मिएका, हुर्किएका र आधुनिक व्यवसायिक वातावरणमा विकसित भएका कारण उनीहरूमा कर्पोरेट सोंच, व्यवस्थापन शैली र व्यवसायिक कार्यशैली स्पष्ट रूपमा देखिन्छ। स्वाभाविक रूपमा, यी दुइ पुस्ताको शैली र संस्कारको प्रभाव संस्थामा पर्दै गएको छ र आगामी दिनमा यसले संस्थालाइ उचाइमा पुरयाउन सहयोग पुरयाउँछ ।

अर्को कुरा, स्थापनाकालमा संस्थाको उद्देश्य र संरचना स्पष्ट रूपमा बुझाउन सकिएको थिएन । त्यसैले व्यवसायसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्तिहरू पनि संस्थामा आबद्ध भएका थिए । अब उद्योग–व्यवसायसँग प्रत्यक्ष सम्बन्ध नभएका सदस्यहरूको संरचना पुनरावलोकन गर्दै संस्थालाई थप व्यवसायिक र प्रभावकारी बनाउने तयारी गरेका छौं।

भारतमा स्थापित नेपाली व्यवसायीहरू नेपालमा लगानी गर्न कत्तिको इच्छुक पाउुनभएको छ ?

ईसीसीआईसँग जोडिएका अधिकांश सदस्य भावनात्मक रूपमा नेपालसँग जोडिनुभएको छ। उहाँहरू नेपालमा केही न केही योगदान गर्न चाहनुहुन्छ । धेरै सदस्यहरूले नेपालका विभिन्न क्षेत्रमा लगानी पनि गरिरहनुभएको छ । तर राजनीतिक अस्थिरता, नीतिगत अन्योल र प्रशासनिक जटिलताका कारण केही लगानीकर्ताले समस्या भोग्नुपरेको अनुभव पनि सुनाउनुहुन्छ।

नेपालमा व्यवसाय सुरु गर्नुभन्दा बन्द गर्न गाह्रो हुने गुनासो धेरै सुनिन्छ । भारतमा व्यवसायिक प्रक्रियाहरू तुलनात्मक रूपमा सहज छन् । यस्ता विषयमा हामीले दूतावासमार्फत नेपाल सरकारसम्म आवाज पुरयाउने प्रयास गरिरहेका छौं।

नेपाल सरकारले एनआरएनको लगानीलाई स्वागत गरिरहेको छ । भारतका प्रवासी नेपाली लगानीकर्ताहरु प्रति कस्तो व्यवहार पाउनुभएको छ ?

नेपाल सरकारले प्रवासी नेपाली लगानीकर्तालाई स्वागत गर्ने नीति लिएको त छ । तर व्यवहारिक तहमा अझै सुधार आवश्यक छ । अहिलेसम्म हामीले त्यो अनुभुत गर्न पाएका छैनौं तर अब हामीपनि सशक्त भएर जाने तयारीमा छौं । नेपालमा वेलनेश टुरिजममा अथाह अवसर छ, त्यस क्षेत्रमा अध्ययन गरेर लगानी बिस्तार गर्नकालागि पहल गर्ने योजना छ ।

भारतमा नेपाली समुदायका उद्योगी–व्यवसायीका लागि अवसर र चुनौती के देख्नुहुन्छ ?

भारत विशाल बजार र ठूलो अर्थतन्त्र भएको देश भएकाले नेपाली समुदायका उद्योगी–व्यवसायीका लागि यहाँ प्रशस्त अवसरहरू छन् । यहाँको ठूलो जनसंख्या, बिस्तारित बजार र व्यवसायमैत्री वातावरणले नेपाली उद्यमीहरूलाई विभिन्न क्षेत्रमा अघि बढ्ने सम्भावना दिएको छ। सामान्यतया नेपाली समुदायलाई व्यवसाय गर्न रोक्ने खालका नीति छैनन् । नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध र खुला आवागमनको व्यवस्थाले पनि नेपालीहरूलाई भारतमा काम र व्यवसाय गर्न सहज वातावरण दिएको छ।

तर केही व्यवहारिक तथा प्रक्रियागत चुनौतीहरू भने अझै छन् । विशेषगरी नेपाली नागरिकका रूपमा भारतमा कम्पनी दर्ता गर्दा भारत सरकारबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने प्रक्रिया छ । भारतसँग भूगोल जोडिएका मुलुकका नागरिकका लागि लागू हुने यो प्रावधानले कहिलेकाहीँ व्यवसाय सुरु गर्ने प्रक्रियालाई लम्ब्याउने र जटिल बनाउने गर्छ ।

त्यसैगरी, नेपाली कागजातका आधारमा काम गर्न पाउने व्यवस्था कानुनी रूपमा भए पनि व्यवहारिक कार्यान्वयनमा अझै केही अस्पष्टता र असहजता देखिन्छ । कतिपय अवस्थामा प्रशासनिक तहमा फरक–फरक व्याख्या हुने समस्या पनि छ ।
हामीले यस्ता विषयलाई संस्थागत रूपमा उठाउँदै आएका छौं। आगामी दिनमा पनि कानुनी प्रक्रिया सहज बनाउने, नेपाली समुदायका व्यवसायीलाई स्पष्ट जानकारी दिने र सम्बन्धित निकायसँग समन्वय गर्ने काममा ईसीसीआईले सक्रिय भूमिका खेल्नेछ ।

सीमा व्यापार, भन्सार समस्या र अन्य अवरोधमा ईसीसीआईको भूमिका के हुन्छ ?

दुवै देशका सरकारसँग संवाद गरेर व्यावहारिक समाधान खोज्ने हाम्रो प्रयास हुन्छ। विशेषगरी सीमा व्यापार, भन्सार प्रक्रिया र नीतिगत अवरोधहरू नेपाली पक्षकालागि बढी जटिल देखिन्छन् । निजी क्षेत्रको अनुभवलाई सरकारसम्म पुरयाउने काममा हामी सक्रिय रहनेछौं।

अध्ययन अनुसन्धानमा ईसीसीआईले कत्तिको ध्यान दिइरहेको छ ?

हामी आर एण्ड डी टिम बनाउने तयारीमा छौं । व्यवसाय, लगानी, नीति तथा बजारबारे अध्ययन र तथ्यमा आधारित सुझाव दिने संस्थागत क्षमता विकास गर्न आवश्यक छ । मैले आफैले पनि आईटी क्षेत्रमा नयाँ लगानीकर्ताको रूपमा अनुसन्धान र नवप्रवर्तनको महत्वलाई नजिकबाट बुझिरहेको छु ।

भारतका फिक्की,सीआईआई, एशोच्याम, पिएचडी चेम्बर तथा नेपालमा एफएनसीसीआई, सीएनआई,नेपाल चेम्बर अफ कमर्श, नेपाल भारत उद्योग वणिज्य संघ(निक्कीं) जस्ता संस्थाहरुसँग सहकार्य गर्दै जाने हाम्रो लक्ष्य रहेको हुँदा पनि अध्ययन अनुसंधानलाई प्राथमिकतामा राखेका छौं ।

नेपाल सरकारसँग सहकार्य कसरी अगाडि बढाउनुहुन्छ ?

हामी विभिन्न कूटनीतिक र संस्थागत च्यानलमार्फत नेपाल सरकारसँग समन्वय गरिरहेका पनि छौ र आगामी दिनमा पनि यसैगरि अघि बढनेछौं । प्रवासी नेपाली समुदायका उद्योगी व्यवसायीहरुका मुद्दा, लगानीका चुनौती र सम्भावनाबारे निरन्तर संवाद कायम राख्ने योजना छ ।

भारतमा हुर्किएको नयाँ पुस्तालाई चेम्बरसँग जोड्न कत्तिको चुनौती छ ?

भारतमा हुर्किएको नयाँ पुस्ताको सोच, कार्यशैली र अपेक्षा फरक छ । त्यसैले उनीहरूलाई आकर्षित गर्न हामीले“एमएसएमई तथा स्टार्टअप इकोसिस्टम”मा केन्द्रित छुट्टै विभाग गठन गरेका छौं। अनुभवी चार्टर्ड एकाउन्टेन्ट, फिनटेक विशेषज्ञ र उद्यमीहरू रहेको यो विभागमा युवा पुस्तालाई जोडेर मेन्टरशिप र नेटवर्किङको वातावरण बनाउने तयारी गर्दैछौं ।

अन्त्यमा तीनवर्षे कार्यकालमा तपाईंको नेतृत्वशैली कस्तो हुनेछ ?

हामी समावेशी, सहकार्य र परिणाममुखी शैलीमा काम गर्नेछौं। कुनै पनि परियोजना सफल बनाउन टिमवर्क आवश्यक हुन्छ । कठिन परिस्थितिमा पनि नेपाल र नेपाली समुदायका एजेण्डालाई केन्द्रमा राखेर काम गर्ने हाम्रो प्रतिबद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *