asha_bhosle_bw

तस्वीर साभारःआशा भोसलेको फेसबुक


नेपइनबिज, २९चैत २०८२ (१२अप्रिल२०२६)

भारतीय सङ्गीत जगतकी अद्वितीय स्वरकी धनी, चर्चित पाश्र्वगायिका आशा भोसलेको ९२वर्षको उमेरमा निधन भएको छ । आइतबार (१२अप्रिल २०२६) मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उनको निधन भएको हो । उनलाइ अत्यधिक थकान र श्वासप्रश्वासमा समस्या आएपछि शनिबार साँझ अस्पताल भर्ना गरिएको उनकी नातिनी जनाई भोसलेले इन्सटाग्राम मार्फत जानकारी गराएकी थिइन । उनका छोरा आनन्द भोसलले आइतबार भारतीय संचारमाध्यम मार्फत आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।

संगीत यात्रा र आशाको विशेषता

सात दशकको सङ्गीत यात्रामा उनले फिल्मी गीत, गजल, पप, लोकदेखि आधुनिक शैलीसम्म हजारौं सिर्जनामा आफ्नो आवाज दिइन । लचकता, भावनात्मक गहिराइ र शैलीगत विविधता उनको स्वर र गायनको विशेषता थियो जसले उनलाइ समकालीन गायिकाहरुमा पृथक बनाएको थियो ।

विश्वमै सबैभन्दा धेरै गीत रेकर्ड गरेर गिनिज अफ वल्र्ड बुकमा नाम दरिएकी भोसलेले २० भाषमा १२ हजार बढि गीत गाएकी थिइन । भारतीय पाश्र्वगायनमा अद्धितिय योगदान दिएकी भोसलेको निधनले भारत लगायत सिंगो संगीतप्रेमी समुदाय स्तब्ध भएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा आशाको छाप

नेपाली भाषामा समेत उनको स्पष्ट उच्चारण र भावनात्मक प्रस्तुति अत्यन्त प्रशंसनीय मानिन्छ। साठीको दशकदेखि नै नेपाली गीतमा उनको आवाजको जादु छरिएको थियो । उनको कण्ठको कोकिलताले म प्यार बेचिदिन्छु, यो हो मेरो प्राण भन्दा प्यारो माइतीघरदेखि मोहनी लाग्ला है , सावने झरीमा, यति धेरै माया दियौ, झझल्को लिएर आएछ सावन, किन बढदैछ ढुकढुकी मुटुको, को होला मेरो मायालु लगायत दर्जनौ नेपाली गीत कालजयी बनेका छन् ।

६०को दशकमा नीजी क्षेत्रको लगानीमा बनेको पहिलो नेपाली चलचित्र माइतीघरमा प्राविधिकहरु भारतबाटै ल्याइएको थियो । बीएस थापाको निर्देशनमा बनेको यो चलचित्रमा संगीतकार जयदेव, कलाकार माला सिन्हा, लगायत गायना आशा भोसले पनि नेपाल भित्रिएको देखिन्छ । ंयस अघि उनले काला सोना भारतीय चलचित्रमा नेपाली भाषाको आगे आगे तोपैको गोला गीतमा डेनी डेन्जोंग्पासँग स्वर दिएकी थिइन ।

भारतमा स्थापित नेपाली संगीतकार रन्जीत गजमेरको संगीतमा उनले धेरै गीतहरु गाइन। यसका अलावा उनले शंभुजित बास्कोटाको संगीतमा पनि गैरी खेतेको शिरै हान्यो जस्तो प्रख्यात गीत गाएकी थिइन । त्यसैगरी नारायण गोपालसँगको चिनो चलचित्रको मोहनी लाग्ला है गीत अहिलेको पुस्तामाझ पनि उत्तिकै लोकप्रिय छ ।

भारतीय संगीत, बर्मन दाको साथ र अभिनय

मराठी चलचित्र माझा बल(१९४३)बाट गायनको यात्रा शुरु गरेकी आशाले चुनरीया(१९४८), नयाँ दौर (१९५७), तिसरी मंजील (१९६६) हिन्दि चलचित्रबाट बलिउडमा आफ्नो स्थान बनाएकी थिइन। प्रख्यात संगीतकार आर.डी. बर्मनसँगको सहकार्य उनको करियरको महत्वपूर्ण अध्याय रह्यो।

उनले विभिन्न भाषा र शैलीका गीतहरूमा सफलता हासिल गर्दै आफूलाई बहुआयामिक गायिकाका रूपमा स्थापित गरिन । उडे जब जब जुल्फे तेरी , ओ मेरे सोना रे, पिया तु अबतो आजा,दम मारो दम, ए लडका हाय अल्लाह देखि किताबे बहुत सी(बाजीगर), जब दिल मिले(यादें) गीतमा उनले स्वर दिएकी थिइन।

आशा ताईका नामले प्रख्यात उनले २०१३मा हिन्दी चलचित्र माइमा अल्जाइमर पिडित आमाको भुमिकामा अभिनय पनि गरेकी थिइन।

अन्तिम गीत

९१ वर्षको उमेरमा उनले सैंया बिना गीत गाएकी थिइन । जसमा संभवत उनको अन्तिम रेकर्डेड गीत मानिएको छ । गत वर्ष रिलिज भएको यो गीतकोे भिडियोमा उनका बुवा दीनानाथ मंगेशकरलाइ श्रद्धान्जलीदेखि नातिनी जनै भोसलेको प्रस्तुति समेत समेटिएको छ ।

एक युगको अन्त्य

दादासाहब फाल्के सम्मानले सम्मानित भोसलेले अनेकौं राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान प्राप्त गरिन । बहुआयामिक गायनशैलीकी धनी भोस्लेले विश्वभरका श्रोतामाझ अमिट छाप छोडेकी छिन् । उनको निधनसँगै सांगीतिक क्षेत्रमा एक युगको अन्त्य भएको अनुभूति गरिएको छ । नेपालका कलाकार, सङ्गीतकर्र्मी तथा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

आशाको जन्म र पारिवारिक पृष्ठभुमि

आशाको जन्म ८ सेप्टेम्बर १९३३मा भएको थियो । प्रसिद्ध शास्त्रीय गायक तथा थिएटर कलाकार पण्डित दीनानाथ मंगेशकर तथा शुधमतीकी चार छोरी र एक छोरा मध्येकी एक आशा भोसलेले बुवाको निधन पश्चात नौ वर्षको उमेरदेखि नै गायनको यात्रा शुरु गरेकी थिइन ।

भारतीय साँगीतिक क्षेत्रमा स्वर साम्राज्ञीको रुपमा स्थापित लता मंगेशकरकी बहिनी आशाका मीना खडीकर तथा उषा मंगेशकर तथा एक मात्र भाइ हृदयनाथ मंगेशकर थिए । भाइ हृदयनाथ मंगेशकर पनि संगीतकार र गायक नै हुन । लता मंगेशकर ६ फेब्रुअरी २०२२मा निधन भइसकेको छ ।

आशाका दुइ छोरा र एक छोरी हुन । जसमध्ये एक छोरी तथा छोराको निधन भइसकेको छ । उनी अर्का छोरा आनन्द भोसले र परिवारसँग बस्दै आएकी थिइन।

आशा भोस्लेको स्वर सधैं श्रोता र सङ्गीतप्रेमीहरूको मनमा जीवित रहनेछ ।

हार्दिक श्रद्धान्जली,आशा ताई

Leave a Reply

Your email address will not be published. Required fields are marked *