परराष्ट्रमन्त्री शिशिर खनाल तथा नेपाल उद्योग वाणिज्य महासँघका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोलीबीच भेटघाट
नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग छलफल
नेपइनबिज संवाददाता,काठमाडौं
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको विद्यमान अवरोध र जटिलता समाधानका लागि भारतीय पक्षसँग कुटनीतिक संवाद भइरहको बताएका छन् । विहिबार नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको भेटका क्रममा परराष्ट्रमन्त्री खनालले सो जानकारी गराएका हुन ।
“नेपाली चियाको निर्यातमा देखिएका समस्या समाधानकालागि हामीले भारतीय अधिकारीहरूसँग कुराकानी अगाडि बढाइसकेका छौँ, उनले भने, समस्याको व्यवहारिक समाधान निकास निकाल्न कूटनीतिक तहबाट ठोस पहल भइरहेको छ । भारतीय पक्षबाट प्राप्त जानकारी अनुसार यसको छिट्टै समाधान निस्किनेछ । ” उनले चिया लगायत अन्य वस्तुको निर्यातमा समेत आउने यस्ता समस्याको दीर्घकालिन समाधानकालागि समेत भारतीय पक्षसंग संवाद भईरहेको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघले कुटनीतिक माध्यमबाट समस्या समाधानको लागि पहल गर्न सरकारलाइ आग्रह गरेको थियो । महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वको एक टोलीले विहिबार परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट गरि अवरोध हटाउन आग्रह गरेको हो । महासंघको टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नुपरेको समस्याबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा पर्दा समग्र अर्थतन्त्र र लाखौँको रोजगारी तथा जीविकोपार्जनमा असर पर्ने बताउँदै जतिसक्दा छिटो समस्याको समाधानको लागि मन्त्री समक्ष आग्रह गरे । उनले दीर्घकालीन समाधानका लागि नेपालमै अन्तर्राषि्ट्रय मान्यता प्राप्त प्रयोगशाला (ब्अचभमष्तभम ीबद) स्थापना गर्नु पर्नेमा समेत जोड दिए ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष नरेशलाल श्रेष्ठ, पूर्वउपाध्यक्ष हेमराज ढकाल, नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली लगायतका उद्योगी व्यवसायीहरुले विशेषगरी हालै भारतीय चिया बोर्डद्वारा जारी गरिएको नयाँ स्टान्डर्ड अपरेटिङ्ग सिस्टम (एसओपी) का कारण नेपाली चिया निर्यातमा थप जटिलता उत्पन्न भएको बताएका थिए ।
उनीहरुले नेपाली चियाको गुणस्तरमा कुनै समस्या नरहेकोले उल्लेख गर्दै भारतीय पक्षसँगका दि्वपक्षीय व्यापारिक संयन्त्रहरूमा यो विषयलाई प्रमुखताका साथ उठाइनुपर्नेमा जोड दिए ।
५असार२०८३, १९ जुन २०२६
