PM oli & NCC MEMBER MEETING

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट तस्बिरः प्रधानमन्त्रीको सचिवालय


नेपइनबिज संवाददाता
काठमाडौं, १२ फागुन २०८१


प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले सोमबार शिष्टाचार भेट गरेको छ । प्रम ओलीसँग महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले यस कार्यक्रमद्धारा नेपाली सेनाले मित्रराष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई बलियो बनाउनाका साथै क्याडेटबीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्ने सुनौलो अवसर सृजना गर्दै आएको बताए । उनले यस्ता कार्यक्रमले आपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको अझ बढी बुुझाइ र कदर सृजना गर्ने भएकाले आपसी सम्बन्धलाई थप सुमधुर बनाई सम्पूर्ण संसार एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले अध्ययन, अवलोकन र जीवनका वास्तविकताहरू अनुभव गरेर सिक्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले यस मञ्चमार्फत एक ऊर्जावान, भविष्यका एक सम्मानित र गतिशील युवा बन्न सहभागीलाई प्रेरणा मिलोस् भनी कामना गरे । कार्यक्रम अन्तर्गत विभिन्न देशका युवाहरूलाई एकत्रित गरेर उनीहरूलाई बफादार, अनुशासित, जिम्मेवार, भविष्यका असरदार नेतृत्वकर्ता र असल नागरिकका रूपमा रूपान्तरण गर्ने काम गरिन्छ । एनसिसीले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवद्र्धन गर्दै आएको छ ।

उक्त ३४ सदस्यीय भ्रमण टोली नेपाली सेनाको निमन्त्रणामा यही फागुन ९ गते नेपाल आएको हो । भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीर पाल सिंह, भूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन, माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी थिए ।––रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *