नेपइनबिज संवाददाता
काठमाडौं,१२ फागुन २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिदेशीय पर्यटन मेलाले नेपाललाई विश्व पर्यटन बजारमा सशक्त उपस्थिति गराउने बताएका छन् । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरद्वारा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजित पहिलो त्रिदेशीय पर्यटन एक्स्पो नाइस–२०२५ (नेपाल इण्डिया चाइना एक्स्पो) को सोमबार पोखरामा उद्घाटन गर्दै उनले नाइस कार्यक्रमले क्षेत्रीय पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
‘एक्स्पोले नेपालको अन्तरराष्ट्रिय छवि बढाउनेछ, विश्वका दुई ठूला पर्यटन अर्थतन्त्रहरू भारत र चीनबाट व्यापारलाई आकर्षित गर्ने क्षमतालाई बलियो बनाउनेछ,’ उनले भने,‘यी दुई आर्थिक पावरहाउसको बीचमा नेपाल रहेको तथ्यले विशिष्ट फाइदा प्रस्तुत गर्दछ ।’ मन्त्री पाण्डेले नाइस–२०२५ ले नेपाल, भारत र चीनबीचको अथाह पर्यटनको सम्भावना खोल्ने पुलको रूपमा काम गर्ने बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालमा पहिलो पटक आयोजित त्रिदेशीय पर्यटन एक्स्पो केवल एक कार्यक्रम मात्र नभई समग्र पर्यटन क्षेत्रका लागि गौरवको क्षण भएको बताउनुभयो । ‘यो त्रिदेशीय एक्स्पोले विश्वका दुई ठूला आउटबाउण्ड पर्यटन बजार भारत र चीनलाई नेपालमै एकत्रित गराउन सम्पूर्ण पर्यटन क्षेत्र एकजुट भएर अगाडि आएको छ,’ उनले थपे ।
नेपालको पर्यटन राजधानी पोखरामा यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ८० अन्तरराष्ट्रिय खरीदकर्ता(बायर्स), ७० बिक्रेता(सेलर्स) र ७५ अवलोकनकर्ता प्रदर्शक सहित छ सय भन्दा बढीको सहभागिता रहेको छ । पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार तथा स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका सरोकारवालाहरुको सहकार्यमा नाइस कार्यक्रम आयोजना गरिएको हो । तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन संस्थाहरूलाई एकै थलोमा ल्याएर गरिएको कार्यक्रमले व्यावसायिक अनुभवका साथै नेटवर्किङ र व्यापार अवसरहरू प्रदान गर्ने जनाइएको छ ।
पाटा नेपालका अध्यक्ष खेम लकाईले त्रिदेशीय पर्यटनको सम्भावनालाई नाइस एक्स्पोले उजागर गर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरासहित समग्र नेपालको पर्यटकीय विकास एवं तीन देशबीचको पर्यटकीय साझेदारीकालागि एक्स्पो महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमल्सिनाले पर्यटन राजधानीमा गरिएको यस कार्यक्रमले स्थानिय पर्यटन प्रवद्र्धनमा विशेष महत्व राख्ने धारणा राखे । पाटाका प्रमुख कार्यकारी अधिकृत नुर अहमद हमिद, गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, पर्यटन सचिव विनोदप्रकाश सिंहलगायतले बोलेका थिए ।––रासस
