bishnu paudel

प्रतिनिधि सभामा बजेटको अर्धवार्षिक समीक्षा पेश गर्दै अर्थमन्त्री पौडेल।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६७ करोड रुपैयाँले घटाएका छन् । विहिबार प्रतिनिधि सभामा बजेटको अर्धवार्षिक समीक्षा पेश गर्दै अर्थमन्त्री पौडेलले बजेट घटाएको बताएका हुन् । पूर्व अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएका थिए । तर अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विनियोजित बजेटको १६ खर्ब ९३ अर्ब ७३ करोड ३५ लाख मात्रै खर्च गर्ने संशोधित अनुमान रहेको बताए । यो शुरुवाती बजेट अनुमानको ९०.१९ प्रतिशत हो । उक्त रकममध्ये चालु खर्चतर्फ १०खर्ब २९ अर्ब ३० करोड, पूँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ६३ करोड रुपैया विनियोजन गरिएको छ ।


अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतिपूर्ण रहेको समेत बताए । उनले तरलता र न्युन ब्याजदरको सुविधाले आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अनुमान रहेको उल्लेख गरे । उनले बढ्दो अनिवार्य दायित्व र प्राकृतिक विपत्तिद्धारा सिर्जित थप दायित्वले बजेट सन्तुलन कायम गर्नु चुनौतिपूर्ण रहेको पनि उल्लेख गरे ।


अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको पुससम्म राजश्व परिचालन १२.७ प्रतिशतले बढेको र आर्थिक वर्षको अन्त्यसम्म बजेटको लक्ष्यनजिक पुग्ने अनुमान रहेको बताए । उनले विनियोजनको ९०.९९ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान प्रस्तुत गरे ।उनले चालु खर्चतर्फ १० खर्ब २९ अर्ब ३० करोड मात्रै खर्च हुने अनुमान रहेको बताए । चालु आवमा ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो । यो संशोधित अनुमानको ९०.२४ प्रतिशत हो ।


उनले पूँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख खर्च हुने संशोधित अनुमान रहेको उल्लेख गरे । अर्थमन्त्री पौडेलले उक्त संशोधित अनुमान विनियोजनको ८५ प्रतिशत रहेको बताए । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा ३ खर्ब ६३ अर्ब ९३ करोड २६ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।


अर्थमन्त्री पौडेलले वर्तमान सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ६ अर्ब ९ करोड ११ लाख रुपैयाँ राजश्व परिचालन हुने संशोधित अनुमान गरेको बताए । उनले बजेटले चालु आर्थिक वर्षमा १२ खर्ब ६० अर्ब ३० करोड राजश्व परिचालन गर्ने लक्ष्य लिएको तर यस्तै आन्तरिक ऋण लक्ष्यअनुसार नै ३ खर्ब ३० अर्ब परिचालन हुने बताए ।


वैदेशिक अनुदान ३६ अर्ब ६२ करोड ६८ लाख मात्रै परिचालन हुने संशोधित अनुमान रहेको उनले बताए । बजेटले वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड प्राप्त हुने लक्ष्य लिएको थियो । यस्तै चालु बजेटमा वैदेशिक ऋणको लक्ष्य पनि संशोधन गरिएको छ । चालु आवमा १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख परिचालन हुने संशोधित अनुमान गरेको छ । बजेटले वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने लक्ष्य लिएको थियो । —(यो समाचार न्युज एजेन्सी नेपालबाट लिएर संपादन गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *