नेपइनबिज संवाददाता,
काठमाडौं,१४ फागुन २०८१
भारतको राजधानी नयाँ दिल्लीमा ‘नेपाल फेस्टिभल २०२५’ आयोजना हुँदैछ । भारतमा छरिएर रहेका नेपाली उद्योगी व्यवसायीहरुको छाता संगठन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिज (इसिसिआई) ले नेपाली दूतावाससँगको सहकार्यमा तीन दिने फेस्टिभलको आयोजना गर्न लागेको हो । आउँदो अप्रिल ११, १२ र १३ तारिखका दिन दिल्लीको बारखम्बा रोड स्थित नेपाली दूतावास परिसरमा यो फेस्टिभल आयोजना हुँदैछ ।
फेस्टिभल नेपाल र भारतबीच लगानी,व्यापार,पर्यटन तथा साँस्कृति प्रवद्र्धन गर्दै नयाँ अवसरहरु सिर्जना गर्नकालागि डिजाइन गरिएको भारतकालागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले आफ्नो आधिकारिक सामाजिक संजाल एक्समा उल्लेख गरेका छन् ।
फेस्टिभलको तयारी तीब्र स्तरमा भइरहेको आयोजक एभरेष्ट चेम्बरका अध्यक्ष युवराज बरालले जानकारी दिए । तीन दिन सम्म चल्ने फेस्टिभलमा द्धिदेशीय व्यापार र पर्यटन, कुटनीति सम्बन्ध, व्यापार तथा लगानीका संभावनाका क्षेत्र, भारत–नेपाल आर्थिक सहयोगको भविष्य बारे विभिन्न सत्रमा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रम रहेको अध्यक्ष बरालले जानकारी दिए । दुइ मुलुकबीचको ऐतिहासिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाइ मजबुत गर्दै जन–जनबीचको सम्बन्धलाइ प्रगाढ बनाउने एउटा प्रयास स्वरुप फेस्टिभलको आयोजना गर्न लागिएको बरालले बताए ।
फेस्टिभलमा दुवै देशका पर्यटन व्यवसायमा संलग्न ट्राभल एण्ड टुर्स लगायत नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक उद्यमी व्यवासायीहरुकालागि बीटुबी, बीटुजी छलफलको व्यवस्था गरिने तयारी भइरहेको छ । नेपाली परिकारका खानाका स्टलहरु, परम्परागत नृत्य,संगीत तथा साँस्कृतिक प्रस्तुतिहरु रहने फेस्टिभलमा साना,मझौला तथा लघु उद्योगका उत्पादन, हस्तकला, पश्मिना, लगायत सय बढि स्टलहरु राखिने बुझिएको छ ।
भारतमा रहेका उद्योगी व्यवसायी, राजनीतिज्ञ, कृटनीतिक नियोगका प्रतिनिधि, कलाकार लगायतको सहभागीता रहने फेस्टिभललाइ परम्परागत तथा आधुनिक कला, संस्कृति झल्काउने प्रस्तुतिहरु, नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति लगायतले आकर्षक बनाउने विश्वास व्यक्त गरिएको छ ।
भारतमा नेपाली दूतावासको सह आयोजनामा यस किसिमको महोत्सव संभवत पटक हुन लागेको आयोजक एभरेष्ट चेम्बरको दाबी रहेको छ । सन् २००८मा स्थापना भएको एभरेष्ट चेम्बरमा भारतका विभिन्न राज्यका ९सय बढी उद्योगी व्यवसायीहरु सदस्य रहेका छन् । यो संगठनको मुख्य कार्यालय नयाँ दिल्लीमा रहेको छ ।
