विश्व प्रसिद्ध हङ्गकङ्ग पोलिटेक्नकल विश्वविद्यालयका प्राध्यापक काये चोन काठमाडौंमा आयोजित कार्यक्रममा मुख्य वक्ताको रुपमा प्रस्तुति दिदैं ।
नेपइनबिज संवाददाता
काठमाडौं, १६ फागुन,२०८१
पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनमा नविनतम सिर्जनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा यस क्षेत्रका जानकारहरुले राखेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘चेन्जिङ ट्रेन्ड्स : रिथिङ्किङ नेपाल्स टुरिजम’ विषयक कार्यक्रमका वक्ताहरुले पर्यटन क्षेत्रमा सिर्जनात्मकता र नयाँपन जोड्न सके पर्यटन व्यवसाय फस्टाउने धारणा राखेका हुन् ।
कार्यक्रममा विश्व प्रसिद्ध हङ्गकङ्ग पोलिटेक्नकल विश्वविद्यालयका प्राध्यापक के चोन प्रमुख वक्ताका रुपमा रहेका थिए । उनले विश्वमा पर्यटनको शैली बिस्तार हुन थालेको समय सन् १९५० देखि आगामी सन् २०३०) सम्मको परिवेशमा केन्द्रित भएर प्रस्तुति दिएका थिए । विश्व पर्यटनको रुपान्तरण केन्द्र यूरोपबाट भएको स्मरण गर्दै उनले संसारभर पर्यटनको शैलीको सुरुवात अन्तरदेशीय ट्राभलबाट हुन थालेको उल्लेख गरे । पर्यटन विकासको सुरुवात पछि विश्वमा एसिया प्यासिफिकको पर्यटन शैलीमा भएको तीब्र रुपमा विकास भएको तथ्यांकले देखाएको उनले बताए ।
पर्यटनको महत्वपूर्ण अंग मानिने होटलको विकासमा समेत विश्वभरको होटल निर्माणमा एसिया प्यासिफकको हिस्सा सबैभन्दा बढी देखिएको छ । यो क्षेत्रमा ४८ प्रतिशत होटल निर्माण भएको देखिन्छ । पर्यटकीय सेवाका लागि स्थापना भएका यस्ता होटलको विकास गर्नमा अमेरिका एक्लैले विश्वको १६ प्रतिशत हिस्सा ओगटेको पनि चोनले प्रस्तुत गरेको उक्त प्रस्तुतीकरणको तथ्यांकमा उल्लेख छ ।
पर्यटन विकासमा एसिया क्षेत्रले महत्वपूर्ण योगदान गरेको पनि उनको भनाइ छ । विश्वमा पर्यटन विकासमा होटलसँगै उत्कृष्ट विमानस्थलमध्येका अधिकांश एसियामै रहेको छन् । पर्यटनमा एसिया क्षेत्रको उत्कृष्ट योगदान रहेको तथ्य उल्लेख गर्दै उनले एसियाको हस्पिटालिटी विश्वकै ‘बेस्ट एण्ड युनिक’ भएको पनि तर्क पनि उनले राखे ।
पर्यटन विकासको क्रममा ‘एसियननेस’ अर्थात एशियाली मुलुकहरुको संस्कृतिहरू, परंपराहरू, मूल्य मान्यता र पहिचान विश्वमै फरक देखिएको उल्लेख गर्दै प्रा. चोनले नविनतम सिर्जना गर्न सकिएको अवस्थामा पर्यटक क्षेत्रलाई थप आकर्षक बनाउन सकिने तर्क पेश गरे । उनले पर्यटनको क्षेत्रमा नयाँपनको प्रयोग तथा नयाँबाटो अबलम्बन गरिने मुलुकहरुको पर्यटन विकासले गति लिने बताए ।
विश्वमा अहिलेसम्म निलो समुन्द्र नै धेरै चल्ने पर्यटकीय गन्तव्यको रुपमा विश्वभरी परिचित भइरहेको छ । यसलाई नयाँपन र सिर्जना दिन सकिएको अवस्थामा मात्रै पर्यटकीय गन्तव्यले विकासमा महत्वपूर्ण भूमिका पर्यटनले नै खेल्न सक्ने पनि चोनले उल्लेख गरे ।
पर्यटनको विकासमा उत्कृष्ट संस्कृतिको विकास पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसका लागि पर्यटन व्यापारलाई हाँक्न ग्राहक तथा कर्मचारीको सन्तुष्टि, उत्कृष्ट सेवा र आतिथ्यता नै भएको बुझाई चोनको रहेको छ ।
पर्यटन तथा आतिथ्यताको क्षेत्रका विज्ञ चोनले आतिथ्यता क्षेत्रमाको पछिल्लो चुनौति मानव संशाधनको अभाव भएको पनि उनले उल्लेख गरे । उनले वर्क–लाइफबीच सन्तुलन मिलाउनु महत्वपूर्ण भएको बताउदै परिवारले करियर विकासमा महत्व दिनु, आत्म चाहना, सामाजिक सञ्जाल यसको प्रयोग, सक्षम नेतृत्वको निर्देशन सहितले पनि पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अनुभव सुनाए ।
उनले सन् २०२४ को एक सर्र्वेक्षणले एक सय जनामध्ये ५९ प्रतिशतले काम छोड्ने र ४१ प्रतिशत जनशक्ति मात्रै होटल तथा आतिथ्यता क्षेत्रमा क्रियाशील भएको तथ्य प्रस्तुत गरेका थिए । यस्तो तथ्यांकले एउटै क्षेत्रमा केन्द्रित भएर निरन्तर काम गर्ने जनशक्ति कम हुने गरेको देखाउने हुँदा यसलाइ चुनौतीको रुपमा प्रस्तुत गरेका थिए । अबको आवश्यकता डिजिटल ट्रान्स्फरमेसनको रहेको उल्लेख गर्दै चोनले यसका लागि नविनतम प्रविधिसँग अभ्यस्त भएर नवप्रवर्तनमा निरन्तर लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा चोनको अनुभव उल्लेख्य भएको बताए । कार्यक्रममा सेजनका अध्यक्ष सुजन ओलीले स्वागत मन्तव्य राखेका थिए ।


