laying-ceramic-tiles-tiler-placing-ceramic-wall-tile-position-adhesive_191163-2035


नेपइनबिज संवाददाता,
काठमाडौं,१० फागुन २०८१

टायल उद्योगमा नेपाल आत्मनिर्भर बन्दै गएको छ । भृकुटीमण्डपमा जारी १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी उद्यमीहरुले यस्तो बताएका छन् । प्राइम सेरामिक्स प्रा.लि.का सञ्चालक आशिष गढले हाल ६ वटा उद्योगले टायल उत्पादन गरेर नेपाललाई आत्मनिर्भरतातर्फ लगिरहेको बताए । स्वदेशी उद्योग फस्टाएकोले टायलको मूल्य समेत सस्तिएको दाबी गर्दै गढले भने,‘गत वर्षसम्म नेपालमा भारतबाट १४ अर्बको टायल आयात हुन्थ्यो । अहिले नेपालमा ६ वटा संचालित उद्योगले टायलको बजार आत्मनिर्भरता तर्फ जाँदैछ । हामी नेपालको बर्ल अफ लो टायल उत्पादन गर्ने एकमात्र कम्पनी हो । हाम्रो निकै राम्रो मार्केट शेयर छ । स्वदेशमै उत्पादन हुने भएकाले चर्को भंसार र ढुवानी खर्च लाग्दैन , त्यसैले लागत मूल्य घटेको हो, बजारमा झण्डै २० देखि २५ प्रतिशतसम्म टायलको मूल्य सस्तिएको छ ।’

लेमिनार सेरामिक्सका निर्देशक आशुतोष खेतानले नेपालको टायल उत्पादनले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति देखाउने समय आएको बताए । उनले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा टायल उत्पादन भइरहेकाले भारत, चीन, अमेरिकालगायत युरोपिएन देशहरुमा समेत निर्यात गर्ने तयारी गरिरहेको बताए । उनले भने,‘ अब हामी आयात मात्र होइन निर्यात गर्ने क्षमता अनुरुप अघि बढिरहेका छौं । हामी भारत, चाइना, युरोप र अमेरिकासम्मको कुरा गरिराछौँ । हाम्रो गुणस्तरले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरिरहेको छ । अब अन्तराष्ट्रिय बजारमा पनि उपस्थिति देखाउने समय आयो ।’

नेपालमा सबैभन्दा ठूलो टायल उत्पादन गर्ने कम्पनी निमाटो बनेको दाबी गदै यसका निर्देशक जयश जैनले नेपालबाट भारत तर्फ टायल निर्यात गर्ने समेत पहिलो कम्पनी बनेको बताए । उनले भने, ‘हामी अहिले पोलिस्ड ग्लेज्ड भिट्रिफाइड टायल उत्पादन गरिरहेका छौँ । हामीले स्थापना गरेको नेपालको पहिलो भिट्रिफाइड प्लान्ट हो । यो नेपालको सबैभन्दा ठूलो प्लान्ट हो । यसले दैनिक १८ हजार स्क्वाएर फिट टायल उत्पादन गर्छ । अहिलेसम्म हामीले भारतबाट टायल आयात मात्रै गरेका थियौँ अब निर्यात पनि शुरु भइसकेको छ र निर्यात गर्ने हामी पहिलो कम्पनी हौं ।’

भारत र चीनमा टायलकालागि आवश्यक पर्ने कच्चा पदार्थका बारेमा गहिरो अध्ययन अनुसन्धान गरेर नेपालमा टायल उद्योग शुरु गरेको प्रसंग उल्लेख गर्दै नेपाल सेरामिक्सका सञ्चालक शम्भुनाथ झाले भने, ‘ नेपालमा टायल उत्पादन शुरु गर्ने हामी पहिलो उद्योग हौं । हामीले उत्पादन शुरु गरेको तीन वर्ष भयो । कोभिडले गर्दा थोरै ढिलाइ भयो तर तीन वर्षदेखि निरन्तर चलाइरहेका छौं । हामीले पाँच वर्ष नेपालमा टायल उत्पादनको संभाव्यता बारे चीन र भारतमा स्थलगत अध्ययन गरेर नेपालमा यसकालागि आवश्यक कच्चा पदार्थ छ कि छैन भन्ने कुरा बुझेर उत्पादन शुरु गरेका हौं । उत्पादित टायल सबै नेपाली बजारमै खपत भइरहेको छ, विदेशमा निर्यात गर्ने संभावना भएपनि स्वदेशकै माग धान्न ठिक्क भएकाले निर्यात गरेका छैनौं । अर्र्को प्लान्ट थपेर उत्पादन बढाएर निर्यात गछौँ ।’ नेपालको टायलको वार्षिक माग २ हजार करोड रहेकाले पाँचदेखि ६ वटा उद्योग राम्रोसँग चल्नसक्ने उनले बताए ।

केही वर्षअघिसम्म नेपाली बजारमा भारतबाट आयातित टायलहरुको एकाधिकार रहेकोमा हाल स्वदेशकै उत्पादनले आत्मनिर्भर बन्न थालेको छ । नेपालमा उद्योग स्थापनाले स्थानीयले रोजगार पाउनुका साथै विदेशी मुद्रा पनि विदेशिनबाट जोगिएको छ । टायल उद्योगहरुको उत्पादन क्षमता बढाएर निर्यातलाइ प्रोत्साहित गर्न सकेमा विदेशी मुद्रा आर्जनको पनि महत्वपूर्ण स्रोत बन्नसक्ने उद्यमी बताउँछन् ।–यो समाचार न्युज एजेन्सी नेपालबाट लिएर सम्पादन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *