तस्बीर साभारः एएनआइ
नेपइनबिज संवाददाता,नयाँ दिल्ली
२६ माघ२०८१
भारतको राजधानी नयाँ दिल्लीमा भारतीय जनता पार्टीले सरकार बनाउने निश्चित भएको छ । गत फेब्रुअरी ५ मा सम्पन्न विधानसभाको निर्वाचनमा प्रचण्ड बहुमत ल्याएर बिजयी भएको भाजपाले सरकार बनाउने निश्चित भएको हो ।
७० विधान सभा सिटकालागि भएको निर्वाचनमा भाजपा दुइ तिहाइ अर्थात ४८ सिटमा बिजयी भएको छ , भने हाल सरकारमा रहेको आम जनता पार्टी २२ सीटमा खुम्चिएको छ । दिल्लीमा सरकार बनाउनकालागि ३६ विधानसभा सिटको आवश्यक्ता पर्दछ । यो पटकको निर्वाचनमा पनि केन्द्रको प्रमुख प्रतिपक्षी दलमा रहेको भारतीय नेशनल काँग्रेसले भने एउटा सीट पनि जित्न सकेन ।
निर्वाचनमा आम आदमी पार्टीका प्रमुख तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् । उनी भाजपाका नेता प्रवेश वर्मासँग पराजित भएका हुन् । केजरीवाल वर्मासँग ४ हजार ८९ मतान्तरले पराजित भएका हुन् ।
भाजपाले दिल्लीमा २७ वर्षपछि सरकार बनाउन लागेको हो । दिल्लीको नवौ मुख्यमन्त्री भाजपा नेतृत्वमा बन्ने भएको छ । यसअघि भाजपाबाट एकै कार्यकाल अर्थात सन् १९९३–१९९८ मा तेश्रो मुख्यमन्त्री मदनलाल खुराना तथा चौथो मुख्मन्त्री साहिव सिंह वर्मा तथा पाँचौ मुख्यमन्त्री सुषमा स्वराज बनाइएकी थिइन ।
केजरीवाललाइ पराजित गर्ने प्रवेश वर्मा दिल्लीको चौथो मुख्यमन्त्री साहिव सिंह वर्मामा छोरा हुन् । उनै वर्मा दिल्लीको अब बन्ने मुख्यमन्त्रीको संभावित नाम मध्येको एक हो । यो निर्वाचनमा आप पार्टीका अर्का प्रख्यात नेता तथा पूर्व उपमुख्यमन्त्री मनिष सिसौदिया पनि पराजित भएका छन् । आप पार्टीकी वर्तमान मुख्यमन्त्री आतिशीले भने जित हात पारेकी छन् । आतिशीले प्रत्याशी भाजपा नेता रमेश विधुडीलाइ पराजित गरेकी हुन् ।
आप पार्टीको हारकालागि शीर्ष नेतृत्व केजरीबालको जेल चलान, केन्द्र सरकारको निरन्तरको प्रहार, मदिरा घोटालाको आरोप र शीश महल विवाद, काँग्रेस पाटीसँगको मतभेद तथा इण्डिया गठबन्धको विफलता मुख्य कारण रहेको भारतीय संचारमाध्यमहरुको विश्लेषण रहेको छ । यसका अलाबा फ्रि सेवाहरुको आश्वासन पुरा नहुनु, तथा विकासका काममा देखिएको उदासिनता पनि आपको हारको कारण रहेको विश्लेषण गरिएको छ ।
