MEA spokeperson

प्रकृति लम्सालको निधनप्रति भारतीय विदेश मन्त्रालय

नेपइनबिज संवाददाता, ९ फागुन २०८१

ओडिसाको भुबनेश्वर स्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा (किट)मा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनप्रति भारतीय विदेश मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ । विहिबार विदेश मन्त्रालयको साप्ताहिक मिडिया बिफ्रिंगमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले शोकाकुल परिवार प्रति समवेदना व्यक्त गर्दै भने, ‘भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं साथै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ ।’

भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र हितलाइ प्राथमिकता दिएको बताउँदै प्रवक्ता जायसवालले भने, ‘यो मामला सार्वजनिक भएदेखि भारतको विदेश मन्त्रालय उडिसा सरकार र किटका अधिकारीका, साथै नेपाली अधिकारीहरुसँग पनि निकट सम्पर्कमा रहेको छ ।’

यो स्थितिलाई सम्बोधन गर्न ओडिसा सरकार र केआईआईटी संस्थानले चालेका कदमबारे जानकारी गराउँदै प्रवक्ता जायसवालले भने, ‘ओडिसा प्रहरीले आरोपित सहित कैयौंलाई पक्राउ गरी ती व्यक्तिहरु विरुद्ध मुद्दा दायर गरेको छ । ओडिसा सरकारले सत्य तथ्य पत्ता लगाउने उच्चस्तरीय समिति पनि गठन गरेको छ जसको निष्कर्षको आधारमा उपयुक्त कानूनी र प्रशासनिक कार्य अघि बढाइनेछ ।’

प्रवक्ता जायसवालले ओडिशा सरकारले नेपाली विद्यार्थीहरूको फर्कने प्रक्रिया सहज बनाउन र उनीहरूको सुरक्षा र शैक्षिक गतिविधिहरूमा सहभागिता सुनिश्चित गर्न कदमहरू चालेको बताउँदै भुबनेश्वरका स्थानीय पुलिसले नेपाली विद्यार्थीहरूको लागि २४/७ हेल्पलाइन नम्बर स्थापना गरेको जानकारी गराए ।

घटनाको ताजा अवस्था बारे वास्तविक समयमा सुचित र समन्वय सुनिश्चित गर्न सकियोस भनेर आफूहरु नेपाली अधिकारीहरु तथा ओडिशा सरकारसँग नियमित सम्पर्कमा रहेको बताउँदै प्रवक्ता जायसवालले भने , ‘भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू भारतको नेपालसँगको दीर्घकालिन जनता जनताबीचको सम्बन्धका महत्वपूर्ण पक्ष हुन । त्यसैले भारतमा रहेका सबै नेपाली विद्यार्थीहरूको सुरक्षा र हित सुनिश्चित गर्न भारत सरकारले आवश्यक सबै कदमहरू चालिरहनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *