रासस
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैया बराबरको राजस्व सङ्कलन गरेको छ । यो गत आवको सोही अवधिमा सङ्कलित रकममा ७ अर्ब ९५ करोडले बढी हो ।
भंसार कार्यालयले सो अवधिमा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार रुपैया राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको हो । “दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ”, उनले भने ।
गत साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड र असोजमा रु १३ अर्ब ४७ करोड रुपैया बराबरको राजस्व असुली भएको थियो । यो कार्यालयलाई चालु आवमा दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्न सरकारले निर्देशन दिएको छ ।
