raw.00_09_49_08.Still275


नेपइनबिज संवाददाता,
२६ माघ २०८१
आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक आस्था तथा साँस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन हुने गरी पाथीभरामा केबलकार बनाउन लागिएको बताएका छन् । शनिबार काठमाडौंको हिमालय होटलमा पाथीभरा केबलकार कम्पनीको अध्यक्षका रुपमा पत्रकार सम्मेलन आयोजना गरेर ढकालले केबलकार निर्माणले धार्मिक आस्था खल्बल्याउने तथा पूर्वाधार संरचना वातावरण तथा प्रकृतिमैत्री नभएको भनेर दुष्प्रचार गरिएको बताए । केबलकारले पाथीभराको धार्मिक आस्थामाथि प्रहार नगर्ने पनि उनले स्पष्ट गरे ।

उनले भने, ‘वास्तवमा जुन हिसावले पाथीभरा केबलकारले संरचनाहरु फरक हिसावले बनायो, धार्मिक आस्थामा नबनाउनुपर्ने चिजहरु बनायो भन्ने भ्रम फैल्याइएको छ । हामीले बनाउने संरचना र पूर्वाधार वातावरण र प्रकृतिमैत्री हुन्छ । सामान्य स्तरको पूर्वाधार हुन्छ । टप स्टेशन हुन्छ । उचाईमा भएको हिसावले सामान्य किसिमले अक्सिजन लगायतको स्वास्थ्यकेन्द्र, शौचालय, तातोपानी, चिसोपानीको व्यवस्था हुन्छ । लेक लाग्ने हिसावमा त्यसको लागि मात्रै यो संरचना बनाइनेछ । माथि फाइभ स्टार होटल हुन्छ रे, कता डेटिङ बस्ने ठाउँ हुन्छ रे भन्ने हिसावको गलत कुरा आएको छ । गलत प्रचार गरिएको छ । त्यहाँको भेटी सबै पाथीभरा केबलकारले उठाउँछ भन्ने जस्ता गलत कुरा गरिएको छ । मन्दिरको भेटीको केबलकारसँग कुनै सरोकार छैन । केबलकारले कुनैपनि हिसावमा धार्मिक आस्था खलल्बल्याउने काम गर्दैन ।’

पाथीभरा केबलकार बनाउने कुरामा ताप्लेजुङवासीको साथ रहेको बताउँदै तीन सय जनाको समुहसँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको ढकालले बताए । केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुनेकुरा महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष ढकालले यसले ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने बताए । ताप्लेजुङ भन्दा बाहिर र विदेशमा बस्नेहरुले नेपालमा हुन लागेको विकासको बिरोध गरिरहेको उनले बताए।

उनले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत अवसर ताप्लेजुङवासीले नै अवसर पाउने पनि उल्लेख गरे । अध्यक्ष ढकालले भने, ‘बिरोधको कुरा आएको छ गर्नुभयो । म आफैँ पनि स्थानीयहरुसँग छलफल गर्न गएँ । सार्वजनिक सुनुवाईमा करिव ३ सय जना स्थानीय हुनुहुन्थ्यो । त्यसमा २५ जना स्थानीयले बोलल्नुभएको थियो । जसमा २ जनाले बन्न हुँदैन भन्नुभयो । ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनु पर्छ भन्ने छ । यहाँको आर्थिक गतिविधि बढछ , रोजगारी सिर्जना हुन्छ, त्यसले ताप्लेजुङमा केबलकार बन्नुपर्छ भन्नेछ । ताप्लेजुङ भन्दा बाहिरका साथीहरु, नेपाल भन्दा बाहिर बस्ने साथीहरुले उहाँले विकसित मुलुकको इन्जोय गरिरहनुभएको छ, त्यहाँको सुविधा लिनुभएको छ । तर ताप्लेजुङमा बन्नु हुँदैन भनेर ताप्लेजुङवासी माझ गलत हिसावले भ्रम फैल्याएका छन् । कताकता पोलिटिकल पार्र्टीहरुले भुमिका खेल्नुभएको छ । ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ बनाउन खोजेको हो । त्यो लगानीलाई ताप्लेजुङ बाहिरका व्यक्तिबाट इस्यु निकालिएको छ । त्यो ताप्लेजुङको लागि दुःख लाग्दो कुरा हो ।’

अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनका लागि केबलकार बनाउन लागेको बताउँदै नेपाल आउने पर्यटकहरुलाई भएका सम्पदाहरु अवलोकन गराउने वातावरण बनाउन खोजेको पनि उल्लेख गरे । पाथीभरा केबलकारको लागत अनुमान करिव तीन अर्बको रहेको जानकारी दिदै उनले एक वर्षभित्र पाथीभरा केबलकार निर्माण गरी मन्दिरको दर्शन गराइने दाबी समेत गरे ।

(यो समाचार न्युज एजेन्सी नेपालबाट लिएर सम्पादन गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *