‘क्यान इन्फोटेक’ को ३0 औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पृथ्वी बहादुर गुरुङ । फोटोः न्युज एजेन्सी नेपाल
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति,कानून र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताए । बिहीवार काठमाडौंमा शुरु भएको ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उदघाटन सत्रलाइ सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्।
उनले नेपाललाइ आइटी हबको रुपमा विकास गर्न आवश्यक नीति,कानून र पूर्वाधार निर्माणका लागि सहजिकरण गर्न मन्त्रालय तयार रहेको बताए । उनले सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आईटी हबको रुपमा विकास गरी विश्वलाई चिनाउनु पर्नेमा जोड दिए । मन्त्री गुरुङले नीजी क्षेत्रलाइ सम्बोधन गर्दै भने, ‘आईटी क्षेत्रलाई आईटी हबका रुपमा विकास गर्न आवश्यक नीति,कानून र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ । तपाईहरु मेहनत र हिम्मतका साथ काम गर्नुस् । नेपाललाई आइटी हबको रुपमा चिनाउनु पर्छ ।’ सरकारले भर्खरै ल्याएको अध्यादेशले राजश्वमा वृद्धि हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘आईटी क्षेत्रबाट यो वर्ष गत वर्षको भन्दा धेरै राजश्व संकलन हुन्छ ।’
नेपालमा पर्यटन भन्दा आईटी क्षेत्रको योगदान बढी हुने अवस्था रहेको बताउँदै मन्त्री गुरुङले भने, ‘पर्यटनको कथा भनेको धेरै भयो तर सन्तोषजनक प्रगति गर्न सकेका छैनौं ।’
सरकारले नेपालको आफ्नै स्याटालइट बनाउने योजना बनाइरहेको बताउँदै उनले भने , ‘नाष्टका वैज्ञानिकहरुले बनाएको ५० किलो ग्रामको स्याटेलाइट भारतको सहयोगमा प्रक्षेपण गर्दैछौं, यो शुरुवात हो । सरकारले काम गर्ने वातावरण बनायो भने वैज्ञानिक खोज्न नासा जानु पर्दैन । सरकारले त्यो काम गर्छ ।’ —(यो समाचार न्युज एजेन्सी नेपालबाट लिएर संपादन गरिएको हो ।)
