नेपइनबिज संवाददाता
काठमाडौं, १० फागुन २०८१
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गरेकी छन् । परराष्ट्रमन्त्री राणाले मुख्यमन्त्री माझीसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्र्थीहरुलाइ सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरुलाई अस्थायी नभएर स्थायी रुपमा नै हटाउन उडिसा सरकारले नै पहल गरिदिनका लागि उनले आग्रह गरेको बताइएको छ । यस विषयमा कलेजमा समिति बनेको र नयाँदिल्लीस्थित नेपाली दूतावासका कूटनीतिक कर्मचारी खटिएकाले समन्वयका लागि मन्त्री देउवाले मुख्यमन्त्री माझीसँग आग्रह गरिन ।
मुख्यमन्त्री माझीले घटनालाई उडिसा राज्यले नै गम्भीर रुपमा लिएको र लम्साललाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम सुरु गरिएको जानकारी गराएका थिए । साथै उनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि उडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन समेत दिएका थिए ।
ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्साल घटनामा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालय,भारत स्थित नेपाली दूतावासले ओडिसा सरकार, केआइआइटी प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वयका साथ काम गरिरहेका छन् । यस विषयमा विहिबार भारतीय विदेश मन्त्रालयले नियमित मिडिया ब्रिफिंगमा घटनाप्रति गहिरो दुख व्यक्त गर्दै भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको थियो ।
