नेपइनबिज संवाददाता
काठमाडौं,१०फागुन २०८१
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन् । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने,‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं ।’
सम्पति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को नकारात्मक सूची (ग्रे लिस्ट) मा नेपाल परेको छ । फ्रान्सको पेरिसमा शुक्रबार सम्पन्न एफएटीएफको दोस्रो महासभाले नेपाललाई उक्त सूचीमा राख्ने निर्णय गरेको हो । सम्पती शुद्धीकरण निवारणसम्बन्धी कानुन कार्यान्वयन, वित्तीय अपराधको अनुसन्धान, कारबाही लगायतका पक्षमा अपेक्षित सुधार हुन नसक्दा नेपाल नकारात्मक सूचीमा परेको हो ।
शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा एफएटीएफकी अध्यक्ष एलिसा डे अन्डा मद्राजोले नेपाललाई आगामी दुई वर्षका लागि ‘ग्रे लिस्ट’मा राखिएको जानकारी दिएकी थिइन । नेपाल सरकारका अर्थमन्त्री पौडेलले शनिबार यही एक्सनको प्रतिक्रिया दिएका हुन ।
