नेपइनबिज संवाददाता
२५माघ,२०८१
संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल र भारतबीचको विशेष तथा प्रगाढ सम्बन्धको लाभ आइटी क्षेत्रमार्फत लिनुपर्ने बताए । भारतीय दूतावासले शुक्रबार काठमाडौंमिा आयोजना गरेको दोश्रो भारत नेपाल स्टार्टअप कनेक्टस कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । नेपालले सूचना प्रविधिको नवीनतम प्रविधिहरूलाई आत्मसात गर्दै अघि बढिरहेको तथा स्टार्टअपहरूका लागि अवसर सिर्जना गरिरहेको बताउँदै उनले दुइ मूलुकबीचको सहज सम्बन्धका कारण दुई देशका नागरिकहरूलाई एकअर्काको देशमा काम गर्न सहज रहेको उल्लेख समेत गरे ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतमा स्टार्टअप संस्कृति युवाहरूबीच मूलप्रवाहमा आएको बताउँदै डिजिटल प्रविधिहरूको व्यापक प्रयोगबारे प्रकाश पारे । भारतमा संचालित स्टार्टअप युनिकर्न बनिसकेको बताउँदै उनले नेपालका केहि स्टार्टअपहरु पनि विश्व बजारमा प्रतिस्पर्धी बनिसकेको उल्लेख गरे । उनले नेपालको FonePay र भारतको UPI बीचको अन्तरसञ्चालनको सफलताबारे उल्लेख गर्दै यो सुविधा मार्चमा सुरु भएयता मात्र ४ लाखभन्दा बढी व्यापारीक कारोबार सम्पन्न भइसकेको जानकारी दिए । त्यसैगरि राजदूत श्रीवास्तवले स्टार्टअप महाकुम्भमा सहभागी भएर भारतीय स्टार्टअप तथा इन्क्युबेटरहरुमा सहभागी भएर लाभ उठाउन नेपालका शैक्षिक संस्था, स्टार्टअप र लगानीकर्ता लगायत सरोकारबालाहरुलाइ आह्वान समेत गरे ।
कार्यक्रममा भारत र नेपालका प्रविधि स्टार्टअपका अवसरहरू तथा सामाजिक प्रभावका लागि डिजिटल सार्वजनिक पूर्वाधार विषयमा दुइ वटा छलफल सत्रहरु समेत संचालन गरिएको थियो । नेपाल र भारतका स्टार्टअपहरुबीच सहकार्य र समन्वयको अवसर जुटाउने प्रयासस्वरुप आयोजना भएको यो कार्यक्रमको छलफलमा सहभागी उद्यमी, लगानीकर्ता र नीति निर्माताहरुले दुई देशका स्टार्टअप इकोसिस्टमलाइ एकआपसमा जोडने प्रयास तर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम राउण्ड टेबल छलफलबाट शुरु भएको थियो । जसमा भारत सरकारको DPI IT, स्टार्टअप इन्डिया, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च , नेपाल सफ्टवेयर तथा IT सेवा संघ, फिनटेक एलायन्स अफ नेपाल, रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN), नेपाल हब, एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय तथा नेपाली स्टार्टअपहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
भारत नेपाल स्टार्टअप कनेक्टसको दोश्रो संस्करण भएपनि यो कार्यक्रम भारतको राजधानी नयाँ दिल्लीको भारत मण्डपममा आउँदो अप्रिल ३ देखि ५ तारिख सम्म आयोजना हुन लागेको स्टार्टअप महाकुम्भको प्रारम्भिक कार्यक्रम समेत रहेको थियो ।



